डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले गैरागाउँ,काडामाण्डौ,सिलगढी खानेपानी आयोजनामा २ करोड २० लाख अनुदान सहयोग घोषणा गरेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका वडा न.५ ,६ र ७ का बासिन्दाका लागि सञ्चालित गैरागाउँ–काडामाण्डौ–सिलगढी खानेपानी आयोजनामा उक्त सहयोग गर्ने गरी घोषणा गरेको हो ।
सिलगढीको गीता पुस्तकालयको प्राङ्गणमा आयोजित अनुदान रकम घोषणा कार्यक्रममा प्रमूख अतिथीका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमूख बाजी सिं खड्काले जनताको पैंसा जनताकै लागि खर्च गर्न लागिएको बताए । एकै वर्षमा नभएर क्रमागत रुपमा खर्च हुनेगरी उक्त अनुदान रकम प्रदान गरिने उनले बताए ।
निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको उक्त आयोजनामा ट्रिटमेन्ट प्लान निर्माण, पाइपलाइन व्यवस्थापन लगाएतमा खर्च गर्न नगरपालिकाले २० प्रतिशत म्याचिङ्ग फन्डका रुपमा व्यहोर्नुपर्ने सम्झौता रहेको छ ।
यसैगरी कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका उप–प्रमूख कलावती महर साउँदले उक्त खानेपानी आयोजनाबाट नगरपालिकाका विशेषगरी वडा नं। ६, ७ र ५ का बासिन्दाहरु लाभान्वित हुने बताईन् ।
जीवनका लागि खानेपानी जस्तो महत्त्वपूर्ण विषयमा अनुदान सहयोगको घोषणा गरेकोमा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष जगत बहादुर खड्काले नगरपालिकाप्रति विशेष धन्यवाद व्यक्त गरे ।
विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुलाई सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य देवेन्द्र गुरुङले मन्तव्यमार्फत स्वागत गरेका थिए ।