भदौ ८, बैतडी । बैतडीमा सोमवार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिने भएको छ । सोमवार राति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने भएको हो ।
जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए । उनले भने ‘गौरा पर्व पनि शुरु भएको छ, यास्तो अवस्थामा भीडभाड हुन सक्ने अवस्थालाई मध्यनजर राखेर सूचनामार्फत आदेश जारी भएको छ ।
आइतवार नै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।
यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिंडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन भनिएको छ ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै सरकारी कार्यालयहरुमा पनि न्यूनतम कर्मचारीको उपस्थितीमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनि तोकिएका बाहेक अन्य सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै, निषेधाज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुद लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । परम्परागत रुपमा नित्यपूजा बाहेक भीडभाड हुने किसिमले मनाइने चाडपर्वमा रोक लगाइएको आदेशमा उल्लेख छ ।
यस्तै निषेधाज्ञा जारी गरिएको अवस्थामा होटेल तथा रेष्टुँराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानून अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले बताए । रासस