चिप्लिएर लड्दा, दलदलमा गड्दा
तिम्रै औंलाको खोज्छ साहारा
भोकले पेट कुक्याउँदा, मेलाबाट आउँदा
पोल्टाको खाजा बन्थ्यो आहारा
तिमी र म मा, फरक यति जम्मा
तिम्ले पेट छाम्थ्यौ, मैले छाम्थें पटुकी
मेलाबाट कहिले आउने, नजर त्यतै धाउने
मात्र भोक प्यास मेटाउन बस्थें बाटो ढुकी
पटुकीले पेट कस्थ्यौ, आफूचाहिँ भोकै बस्थ्यौ
गलाले निल्नै चाहैन, मलाई नखुवाई खाएन
मलाई निथ्रुक्कै पारेर, घस्थ्यौ तेल तारेर
तिम्रो फुटेको पैतालाले त तेल सुघ्न नि पाएन
धर्ती र आकाश, सर्वस्व तिमी नैं हौ खास
कयौं बोझ थाम्यौ, उठायौ गह्रुङ्गो पहाड
तैपनि जुध्यौ, हार मानेनौ, पार लगाइछाड्यौ
जिन्दगी धितोमा राख्यौ लगाउन मुखमा माड
बाँच्नलाई त बाँच्यौ, दुई मुठी सास साच्यौ
सपना सारा लगानी ग¥यौ पालुवा मलजलमा
भोक मेट्न, निद भेट्न पाएनौ तिमीले त्यो बेला
कयौं रात अनिदै गुजा¥यौ मायाको तलतलमा
सुन्दर प्रकृति सारा, आकाशमा लाग्दा नौलाख तारा
चाख्नलाई तिम्ले पाएनौ कहिल्यै सयौंथरी थियो झमेला
उर्जाशील जोवन, हाम्रो लागि सोच्दा, खुल्न सकेन त्यो मन
पीडा नैं पीडा थ्यो, विगतका दिनमा तिम्रो त्यो बेला
च्यातिएको कछाडको भरमा, साहुको घर घरमा
जान्थ्यौ मेरो लागि दशैंको एक सरो लुगा किन्नलाई
आफ्ना सपनाको गला दबाइ, दुःख, हण्डर खाई
बिताएका पलको साक्षी म नैं हु, हिसाब छ पाइ पाइ