२० जुन २०२३ मा डोटी जिल्लाको आदर्श गाउपालिका वडा नं ७ रेजुलामा BMZ/AWO International को आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित सुरक्षित श्रम आप्रवासन प्रबर्धन परियोजनाको सहजीकरणमा झलले आप्रवासी महिला समूहको गठन भयो । समूहमा २२ जना महिला सदस्यहरु थिए । समूहको गठन पश्चात् समूहको मासिक बैठक बसी बैठकमा नियमित बचत लगानी र सुरक्षित श्रम आप्रबासन, मानव बेचबिखन, लैंगिक हिंशा न्यूनीकरण, सरसफाई, जीविकोपार्जन आदि विषयमा निड्स नेपालले नियमित रुपमा अभिमुखीकरण गर्यो ।
यसका साथै उक्त बैठकमा सामाजिक सवाल र समुदायको विकास निर्माणका बारेमा समेत छलफल गरिन्थ्यो । यसै क्रममामा झलले आप्रवासी महिला समूहका सदस्यहरुले न्वाघरमा सिंचाई पाखरी निर्माणका लागि निड्स नेपालसंग माग गरे । निड्स नेपालले समूहसंग व्यापक छलफल गरी सो आयोजनाको सम्भाव्यता अध्ययन गर्यो । सम्भाव्यता अध्ययनका आधारमा उक्त योजना निर्माण गर्नु उपयुक्त ठानी योजनाको सर्भे डिाजाईन र इष्टिमेट गरी उपभोक्ताहरुले करीव २० प्रतिशत श्रमदान गर्ने गरी उपभोक्ता समितिसंग सम्झौता गरियो ।
उक्त योजनामा निड्स नेपालले रु. ४,१०,१२०|– र स्थानीय उपभोक्ताको जनश्रमदान रु. १,०१,२५०|– गरी ५,११,३७०|– लगातमा पोखरी निर्माण गर्ने कार्य शुरु गरियो । सो योजना २०८०।०७।०२ मा शुरु भई २०८०।९।०९ मा योजना सम्पन्न भएको छ । यस योजना निर्माण कार्य गर्दा आप्रवासी महिला समुहका सदस्यहरु मध्येबाट उपभोक्ता समिति गठन गरी योजना निर्माणको सपूुर्ण कार्य महिलाहरुलाई जिम्मा दिईयो ।
समूहका महिलाहरु मिलेर योजना निर्माणको सम्पूर्ण कार्य सफलताका साथ तोकिएको समयमा सम्पन्न गरे । अन्य योजनाहरुमा श्रमदान प्राय शुन्य जस्तै हुने गरेको अवस्थामा महिलाहरुले करीव २० प्रतिशत श्रमदान गरी योजनाको निर्माण कार्य नमूनाको रुपमा सम्पन्न गरे । पुरुष प्रधान समाजमा महिलाहरुले योजनाको नेतृत्व र निर्माण कार्यमा सम्पन्न गर्नु एक महत्वपूर्ण कार्य हो । गाउंका समाजसेबीहरु भन्छन्, “महिलाले गरेको यो काम सारै उदाहरणीय हो ।
अन्य सममुदायका महिलाहरुले समेत यस कार्यको सिको गर्न सके समुदायको विकासमा फड्को मार्न सकिन्छ ।” यस योजनाबाट ६० घरधुरीलाई फाईदा पुग्ने र १५ रोपनी खेतबारी सिचाई हुने कुरा यस उपभोक्ता समितिकी अध्यक्ष धना बाग बताउँछिन् । साथै उनी अगाडि भन्छिन् “यस पोखरी निर्माण भए पश्चात् यस क्षेत्रमा धान खेती सँगै तरकारी खेति पनि गर्न सजिलो हुने भयो ।
विगतमा पोखरी निर्माण नहुँदा कच्ची कुलोबाट हिउँदमा खेत सम्म पनि नपुग्ने र बर्षात्को समयमा मात्र खेत सम्म पानी पुग्ने गरेको थियो तर अब त्यो समस्य पनि समाधान भएको छ किन भने यस पोखरी सम्म पाईप मार्फत् मुहानबाट पानी आउने भएकाले । स्थानीय सरकार, संघ संस्था र अन्य सरोकारवाला निकायहरु सँग समन्वय गर्नाले महिलाहरु नेतृत्वमा निर्माण कार्य पनि गर्न सकिने रहेछ ।”