प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् ।
आइतबारदेखि अस्वस्थ रहेका ओलीलाई भेट्न प्रचण्ड उनकै निवास जान लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रचण्ड बिहान ९ बजे बालकोट जानेछन्।
बिरामी परेका ओलीलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री बालकोट जान लागेका हुन्।
सोही क्रममा टिआरसी विधेयक अघि बढाउने विषयमा पनि छलफल गरिने शर्माले जानकारी दिए ।
‘स्वास्थ्य लाभको कामना गर्ने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अघि बढाउने विषयमा छलफल गर्ने भन्ने छ,’ शर्माले सेतोपाटीसँग भने।
टिआरसी विधेयक अघि बढाउने विषयमा तीनदिन अघि सभामुखको निवासमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो।
त्यसपछि सो विषयमा छलफल हुन सकेको छैन।
प्रधानमन्त्री प्रचण्ड टिआरसी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने पक्षमा छन्।
एमाले अध्यक्ष ओलीले भने विधेयकबारे संसदमा व्यापक छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान लिएका छन् । setopati