शालिभान साउँद, मंसिर १९, डाेटी
मुक्त हलियाकाे सवालहरूमा सराेकारवाला सँगकाे परामर्श बैठक एक कार्यक्रमका बिच सम्पन्न भएको छ। सम विकास केन्द्र (इडिसी) डाेटी नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डाेटीकाे संयुक्त आयोजनामा नेपालमा कृर्षिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत सम विकास केन्द्र (इडिसी) डाेटीका अध्यक्ष अधिराज्य विसीकाे अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज खडकाकाे प्रमुख आतिथ्यतता तथा सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिकाे उपस्थितिमा उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सम्पन्न भएको हाे।
हलियाका समस्याहरू जस्ताका त्यस्तै रहेका, स्थानिय सरकार, प्रदेश सरकार देखी राज्यले हलिया पुनस्थापनाका लागि कुनै पनि निती नबनाई दिदाँ हलिया मुक्त हुने सम्भावना नरहेकोले अब मुक्तिका लागि आन्दाेलन बाहेक अरू बिकल्प नभएको राष्ट्रिय हलिया मुक्ति समाज डोटीका महासचिव टिका सिं नेपालले बताए ।
मुक्त हलियाकाे पुनस्थापनाका लागि राज्यले केहि प्रयास गरे पनि बिशेष निती नबन्दा गरेका क्रियाकलाप पनि बालुवामा पानी जस्तै भएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज खडकाले बताए। हलियाकाे सवालमा जिल्ला प्रशासन कार्यालय बाट हुने जुनसुकै क्रियाकलाप, समन्वय, सहकार्य, सहयाेग गर्न आफु तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी खडकाले बताए।
सम बिकास केन्द्र (इडीसी) नेपाल, डोटीले दलित, महिला, सिमान्तकृत समुदायको हक, अधिकार सहित समतामूलक समाजको स्थापनाको उदेश्य लिएर समग्र क्षेत्रको बिकासको लागि बिगत २४ बर्ष देखि डोटी जिल्लामा क्रियाशील रहेको र मुक्त हलियाकाे पुन स्थापनाकाे लागि पनि परामर्श गरिएको सम बिकास केन्द्र (इडीसी) डोटीका अध्यक्ष अधिराज्य विसीले बताए। कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।