लेख
लोकेन्द्र बिष्ट
ना .सु
जिल्ला अस्पातल डोटी
कोरोना भाइरस सुरुवातका दिनमा कोही व्यक्ति प्रभावित भएको भनी सुन्दा जो कोही डराउँथे, प्रत्येकले कानेखुसी गर्थे, आज त फलानालाई कोरोना लागेको देखियो रे । त्यो मान्छे त अब आइसोलेसनमा राखिने भयो ।अरु कसैले उसलाई भेटघाट गर्न नपाउने भए । मरीहाल्यो भने पनि दाहासंस्कार गर्न समेत नमिल्ने भयो । अब त्यसका घर छिमेक साथी सङ्गी सबैबाट सचेत रहनु पर्दछ आदी ईत्यादी । हुन पनि त्यो बेला अमेरीका, ईटाली, स्पेन जस्ता स्वास्थ्य क्षेत्रका अब्बल मुलुकहरुलाई आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि हम्मे हम्मे परीरहेको थियो । उनीहरुले यस महामारीका अगाढी आफ्नो केही सीप नलाग्ने भए पछी आत्म समर्पण गरिरहेका थिए । त्यस बेलामा नेपाल जस्ता सबै हिसाबले कमजोर अनि गरीब मुलुकका लागि यो महामारीको असलीरुपको प्रतिकार कल्पना बाहिरको कुरा थियो । सोही अनुरुप नेपाल र नेपालीका लागि जीवन र मरण चर्चा परिचर्चाको बिषयबन्नु अनि अन्तरआत्मा देखीको डरभाव पलाउनु अन्यथा थिएन ।
नेपाल सँग अन्य उपयुक्त विकल्प नभए पनि लकडाउन एक सर्वोत्तम उपाय भएको महशुस भयो र लकडाउनको नीति अपनाइयो । त्यसताका महामारीले फैलने मौका पाउन सकेको थिएन । मानव मुभमेण्ट न्युन भए पछी प्रकोपको जोखिम न्युन हुने नै भयो । यसै बीच जब कोरोना महामारीका असिम्टोमेटिक केशहरु बढी देखिन थाले, समाजमा संक्रमण फैलिएको अवस्था भएतापनि त्यसबाट मानवीय क्षेती र जोखिम कम देखियो तब डरभाव विलिन हुन थाल्यो । हामी नेपालीहरुले यसलाई पचाइसकेको पनि महशुस गर्यौँ । हामीलाई कोरोनाको संक्रमण देखिए सहजै निको हुन्छौ अनि समस्या देखिन्न भन्ने लाग्यो ।
त्यति बेला सम्म मानवीय क्षेति पनि नगन्य मात्रामा थियो । कोरोनाको प्रभावले हुने मृत्युदर अन्य रोगको प्रकोपले हुने मृत्युदर भन्दा ज्यादै न्युन थियो । यही तथ्याङ्कलाई आधार तथ्याङ्कको रुपमा हेर्यौ र महामारीको जोखिमबाट बच्नका लागि अपनाईएका सबै सावधानीहरु प्रति वेवास्ता गर्यौँ । क्वारेण्टाईन, आइसोलेशन कक्ष र अस्पतालका सैयाहरुमा रहेका विरामी तथा सम्पर्कका अन्य मानिसहरुलाई जानी नजानी समुदायमा हिमचिम हुने मौका दियौँ । तर समय अनुमान योग्य भएन। अहिले हाम्रा परिकल्पनाका प्रतिकुल परिणामहरु देखिन थालेका छन । हामीले सोचे झैँ हाम्रो रोग प्रतिरोधी क्षमता कोरोना भाइरसको अगाढी निरीह हुने सिवाय केही देखिएन ।
पछिल्ला दिनहरुमा कोरोना भाईरसले हाम्रै अगाढी विकराल रुप प्रदर्शन गर्न थालिसक्यो । संसार भर करीब दुइ करोड वाइस लाख मानीसहरुमा कोरोना भाइरसको संक्रमण देखिँदै गर्दा करीब सात लाख असीहजारको हाराहारीमा मानिसहरु मृत्यु वरण गर्न विवश भएका छन । अहिले यही महामारीको प्रकोपबाट हुने मृत्युदर ५ प्रतिशत भन्दा बढी देखिन थालेको छ । नेपालमा पनि यसको प्रकोप निकै रफ्तारमा बढेको देखिन्छ ।यो आलेख तयार गर्दाका बखत सम्म करीब २८३०० केशहरु कोरोनाका देखिएकोमा ११४ जनाको निधन भैसकेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या ग्राफ चित्रको अध्ययन गरी हेर्दा मे महिनाको २९ तारिख यता मृत्युदर ह्वात्तै बढेको छ । नेपालमा हाल दैनिक सरदर ४ जनाको कोरोना महामारीको कारणले ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ ।
फोक्सोमा संक्रमण पैदा गर्ने कोरोना भाइरस अन्य मुलुकमा झैँ अब नेपालमा पनि साच्चिकै महामारीको रुपमा फैलन थालेको छ । हावापानी वा सिजन परिवर्तन सँगै यसको प्रकोप व्यापक मात्रामा हुने निश्चित प्राय छ । गर्मी सिजनमा प्रकोप केही कम भएको देखिएता पनि सुर्य उत्तरायण भए सँगै हुने चिसो मौसमको प्रभावले मौसमी रुघाखोकीको प्रकोप बढन सक्ने र त्यसैमा कोरोनाको जोखिम देखिने हुन सक्छ ।
एक पटक आतंकित भई सो अवस्थाबाट पार पाउनै लागेका हामी नेपालीहरुलाई पुनः आतंकित हुने गरी महामारी फैलिन थाल्नु तातो गास निल्नु न ओकेल्नु भए सरह हो ।यसबाट न त पार पाउन सकिन्छ न काम विहिन भएर बस्न नै । विगतमा संसारकै अब्बल ठानिएका मुलुकहरुले भोगेका पीडाहरु यहाँ हाम्रा सामु पनि झलझल्ती देखिन थाले भने के नै पो गर्न सकिन्छ ररु जबकी नागरिक समाज, सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रयासबालुवामा पानी हाले जस्तै असफलता तर्फ धकेलिएका छन। कोरोना महामारीको सकस संसारमै त्यही रुपमा छ । कोहीले कसैलाई सहानुभुति दिन सक्ने अवस्था छैन ।
बिषम परिस्थितीमा हामी नेपालीहरु गुज्रिदै गर्दा महामारीको प्रभाव कहाँ कति सम्म जाने हो पत्तो छैन । हाम्रा आनी बानीमा हुनु पर्ने सुधारमा टस न मस छ, अपेक्षित सुधार छैन । स्वास्थ्य क्षेत्रको विज्ञता संसारमै कामयावी नहुँदा हाम्रो जस्तो मुलुकको विज्ञताले सफलता पाउने कुरा हावाकल्पना मात्र हुन । चाहे जेहोस उपचारात्मक क्रियाकलासँग सम्बन्धित विज्ञता आसातित सफल र परिणाममुखी नभए पनि निरोधात्मक गतिविधीको विज्ञता संसारकै लागि प्रसंसनीय छ । यहाँ प्राविधिक क्षेत्रका सवाल अप्राविधिकहरुले लेख्नु र बिचार प्रस्तुत गर्नु सान्दर्भिक त ठानिन्न तर पनि व्यवहारिक ज्ञान र परिस्थिति अनि परिवेशको अध्ययनले केही न केही सिक्ने मौका सबैले पाएका छन । सोही अनुसार विश्लेषण हुनु र गरिनु अन्यथा पक्कै पनि होइन ।
हुन त आशाका किरणका लागि विगत कालखण्डका विनाशकारी घटनाको रुपमा फैलिएका महामारीको प्रसंगलाइ जोड्न सकिन्छ । विश्वमा हरेक करीब १०० बर्ष अन्तरालमा नयाँ नयाँ स्वरुपमा महामारीहरु देखा परे । ति महामारीका विरुद्ध सफलता हात लाउन दशौ बर्ष संघर्ष गर्नु पर्यो । महामारीकै कारण करोडौँ मानिसहरुले अकालमा मृत्युवरण गरे । तथापी तिनीहरु विरुद्ध मानिसले विजय प्राप्त गर्न सफल भए र हाल तिनीहरु सामान्य लाग्न थाले । यस पुर्व क्षयरोग, झाडापाखला, हैजा र आउँमासी जस्ता रोगहरुको प्रकोपले महामारीको रुप लिएको थियो जुन अहिले सामान्य जस्तै छन । ।यस पटकको महामारी पनि ठीक १०२ बर्षमा देखा परेको ठानिन्छ ।आशा गरौ कोरोना महामारी माथि पनि मानवीय विजय हात लाग्ने छ र सामान्य अवस्था कायम रहनेछ ।
तथापी संसारमा चोटीलो महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरसको संक्रमणले हुने महामारीबाट बच्न र संक्रमणको दर बढ्न नदिन व्यक्ति, समुदाय र राष्ट्र समग्र रुपमा सम्वेदनशील बन्नु पर्ने बेला आएको छ । उपचारको ठोस विधी र प्रिभेण्टिभ मेथडको चमत्कारिक आविश्कार भएको अवस्थामा वाहेक कोरोनाको संक्रमणबाट जोगिने उपयुक्त उपचारात्मक कदम छैन । तसर्थ संसारमा समयान्तरालमा देखा पर्ने महामारीहरुबाट बच्न उचित सावधानी अपनाउनु नै पर्फेक्ट उपाय हो । अहिले प्राय सबैले भन्ने गरेको सामाजिक दुरी कायम राख्ने, साबुन पानीले मिचिमिची हात धुने र मास्कको प्रयोग गर्ने गर्नु नै कोरोनाबाट बच्ने उत्तमउपाय हो । यो सँगै अत्यावश्यकीय कामाकाज बाहेक घर बाहिर ननिस्कने, अनावश्यक भिडभाड नगर्ने र संक्रमण भएको संका लागेमा नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउने गरी वानीव्यवहार परिवर्तन हुनु जरुरी छ ।
महामारीको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति व्यक्तिमा सचेतना आवश्यक त छ नै, यो सँगै सामुदायीक र सरकारी तवरबाट पनि उचित नीतिगत व्यवस्था हुन जरुरी छ । जसअनुसार महामारी विरुद्ध खटिने जनशक्तिलाइ प्रोत्साहित गर्ने, अस्पतालहरुको उपचार क्षमता बृद्धी गर्ने, भेण्टीलेटर सहितको आइसियु कक्षको व्यापक मात्रामा स्थापना गर्ने, उपलब्ध जनशक्तिलाई तालिम प्रदान गर्ने, विकास निर्माणका कार्यलाई तत्कालका लागि होल्ड गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक व्यवस्थापकीय कार्यमा पर्याप्त बजेट व्यवस्था गर्ने आदि छन । यो सँगै सावधानीका उपायहरुको अवलम्बनमा लापरवाही गर्नेलाई दण्डित गर्ने व्यवस्था गरिनु आवश्यक छ ।
अन्त्यमा विश्व स्वास्थ्य संगठनलाई समेत मुख्य चुनौतीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण नेपाल र नेपालीका लागि धेरै घातक बन्न सक्ने सम्भावना छ । तथापी अझै पनि संक्रमण फैलिन नदिन केहीमौका छन। हाल पिसिआर परीक्षणको दायरा साविकमा भन्दा बढेको छ । तसर्थ समुदायस्तरबाट नेजोफेरेन्जियल नमुनाहरु संकलन गर्दै परीक्षण गर्ने र प्रकोप देखिएका स्थानहरुमा विशेष सावधानी अपनाउने । अनावश्यक मानवीय मुभमेण्टलाई नियन्त्रित गर्ने । दैनिक देशै भरी दस हजार नमुनाहरु परीक्षण गर्ने गरी प्रयोगशालाहरुको क्षमता बढाउने । तिनीहरुबाट प्राप्त हुने नतिजाका आधारमा रणनीतिक पहल चाल्ने गरिए महामारीलाई जीत्न केही राहात मिल्न सक्ने देखिन्छ।