काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न जनरल र एचडीयू गरी ३ सय ३९ बेड छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अस्पतालमा शनिबार २ सय १३ बेड खाली छन् । ‘एक सातायता दिनमा १०–१२ जना मात्रै भर्ना भइरहेका छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले भने, ‘यसले संक्रमित हुनेको संख्या घट्दै गएको देखाउँछ ।’
पाटन अस्पतालमा पनि १ सय ६२ वटा जनरल बेड खाली छन् । यहाँ २ सय ७० जनरल र एचडीयू बेड संक्रमितका लागि छुट्याइएको थियो । अस्पतालमा १ सय ८ जना संक्रमित उपचाररत छन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४४ बेड खाली छन् । संक्रमण उच्च भएका बेला टेकु र त्रिवि शिक्षण अस्पताल बाहिर राखेर बिरामीको उपचार गर्नुपरेको थियो । भक्तपुर अस्पतालका ७३ बेडमध्ये २२ बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार धुलिखेलसहित काठमाडौं उपत्यकाका २१ वटा सरकारी र निजी अस्पतालमा कोरोना संक्रमितका लागि २ हजार ७ सय ६९ जनरल र एचडीयू शय्या रहेकामा शनिबार २ बजेसम्म १ हजार १८ जना मात्रै उपचाररत छन् । २१ वटा अस्पतालमा १ हजार ७ सय ५१ शय्या खाली छन् । उपत्यकाका निजी र सामुदायिक अस्पतालमा संक्रमितको चाप घटे पनि आईसीयू पाउन भने अझै पनि गाह्रो छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनमा २ हजारभन्दा बढी देखिन थालेपछि वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा अझै जारी छ । संक्रमण उच्च भएको वैशाख अन्तिम साता काठमाडौं उपत्यकामा दिनमा ४ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । त्यो बेला संक्रमितलाई अस्पताल बाहिरै राखेरसमेत उपचार गर्नुपरेको थियो । काठमाडौं उपत्यकामा शनिबार सबैभन्दा कम ५ सय ९८ मा संक्रमण पुष्टि भएको छ । जुन देशभरि देखिएको कुल संक्रमितको १७ प्रतिशत हो । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उपत्यकाका आठवटा ल्याबको पीसीआर परीक्षणको विवरण भने समावेश गरेको छैन । ‘शनिबार भएकाले ल्याबले विवरण नपठाएको हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने । उपत्यकाको अस्पतालमा भर्ना हुने कम हुनुले पनि संक्रमण दर घटेको प्रस्ट हुने उनले बताए । दोस्रो लहरको उच्च बिन्दुबाट संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेको उनको भनाइ छ ।
जेठ पहिलो साता देशभरिमा देखिएका संक्रमितमध्ये ३३.४८ प्रतिशत काठमाडौं उपत्यकामा थिए । जेठ १ देखि ७ गतेसम्मको देशभरको दैनिक औसत परीक्षण संख्या २१ हजार २ सय ३६ थियो । यस्तै, जेठ ८ देखि १४ गतेसम्म उपत्यकासहित देशभरिको दैनिक औसत परीक्षण संख्या २० हजार ६ सय ५३ मा झर्यो । त्यस अवधिमा भेटिएका संक्रमितमध्ये ३१ दशमलव २१ प्रतिशत उपत्यकाका थिए । जेठ १५ देखि २१ सम्ममा फेला परेका संक्रमितमध्ये उपत्यकाका २५ दशमलव ९२ प्रतिशत थिए । चैत २२ देखि २८ गतेको परीक्षणमा पाइएका संक्रमितमध्ये उपत्यकाको हिस्सा २४.१० प्रतिशतमा झर्यो । स्वाब परीक्षण भने चौथो साता दिनमा औसत १६ हजार हाराहारी नमुनामा सीमित भयो । संक्रमण जेठ पहिलो साताको तुलनामा अन्तिम सातामा ९ प्रतिशतले घटेको देखिन्छ । स्वाब परीक्षणको दर २३ प्रतिशत घटेको छ । शनिबार देशभरि देखिएका संक्रमितमध्ये १७ दशमलव ६७ प्रतिशत मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका छन् । शनिबार काठमाडौंमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
३३८४ संक्रमित थपिए, ६२९५ निको
पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा ६ हजार २९५ जना निको भएका छन् भने ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमित ११.७५ प्रतिशत अर्थात् ७१ हजार ३०० छ ।