प्रकृयागत पूर्व तयारी बैठक डोटीमा सम्पन्न
शालिभान साउँद, चैत्र ०१, डोटी।।
“दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ डोटी जिल्ला स्थित मल्लोसिन कालापातल सामुदायिक वन उपभोक्ता समुह र पुनेपाटा सामुदायिक वन उपभोक्ता समुह बिचमा रहेको सिमाना विवाद सम्बन्धी दिपायल सिलगढी नगरपालिका वडा नं. २ को कार्यालयको समन्वय तथा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनमा शनिबार एक औपचारिक कार्यक्रमका बिच पूर्व तयारी बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सहजीकरण गर्दै प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति लोक बहादुर थापाले सहभागिहरुलाई संस्थाको बारेमा र आगामी दिनमा संस्थाले प्रकृयागत रुपमा काम गर्दा दुबै पक्षको जित हुने गरि कामको थालनी गर्ने बताए ।
यसै गरि मल्लोसिन कालापातल सामुदायिक वनका अध्यक्ष विष्णु बोगटीले हामी दुबै उपभोक्ताहरुले वनको संरक्षण गरि पाई पर्ने स्थानमा भोगचलन गर्नुपर्ने बताउनुभयो । यस्तै गरि पुनेपाटा सामुदायिक वनका अध्यक्ष इन्द्र बहादुर कठायतले वनको सिमानाले गर्दा हामीलाई मात्र प्रभाव नपारी भावी सन्ततीका लागि पनि प्रभाव पार्ने भएकाले हामी सबै एक आपसमा मिलेर विवादलाई रुपान्तरण गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो । साथै अन्य उपभोक्ताहरुले सबैले अहिलेसम्म जसरी मिलेर वन पैदावारको भोगचलन गरेका छौं आगामी दिनमा पनि मिलेर भोगचलन गर्न पाउनु पर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले यो दुबै पक्षको विवाद लामो समय देखि नै रहेको हुनाले पटक पटक विभिन्न माध्यमबाट विवाद सहजीकरण गर्नको लागि उपाय लगाए पनि सहमति हुन सकेको थिएन । संस्थाको प्रकृयागत रुपमा रहेर दुबै सामुदायिक वनका पदाधिकारीहरुलाई छलफलमा रहेर विवाद समाधान गर्नको लागि आग्रह गर्नु भयो । साथै उहाँले मेलमिलापको माध्यमबाट दुबै पक्षको लाभ लाभ हुने गरि विवाद रुपान्तरण हुने भएकाले सबैले मिलेर जानु पर्ने धारणा राख्नु भयो । वडा अध्यक्ष खड्काले मानवको चोला भनेको मरेर जाने भएकाले वनको विकवादले गर्दा भावी सन्तानलाई नै असर पुरयाउने भएकाले सबैले सहकार्य र मेलमिलाप गरेर विवाद समाधान गर्ने तर्फ लाग्नु पर्ने बताए ।
कार्यक्रमका सभापति तथा दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा सदस्य कृष्ण बहादुर कठायतले दुबै पक्षले एक आपसमा मिलेर विवाद समाधान गर्नु नै सबै भन्दा राम्रो पक्ष रहेको हुनाले आगामी दिनमा संस्थाको प्रकृया अनुसार विवाद समाधान गर्नको लागि लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले हामी दुबै पक्षका उपभोक्ताहरु मिलेर जाने हो भने विवाद लामो समयसम्म नरहने कुरा उल्लेख गर्नु भयो । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले डोटी जिल्ला लगायत अन्य जिल्लामा जल,जंगल र जमिन विचमा रहेका बहुसरोकारवाला विवादमा मेलमिलापको माध्यमबाट काम गर्दै आइरहेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा सदस्य कृष्ण बहादुर कठायतको अध्यक्षतामा र दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुबै सामुदायिक वनका अध्यक्ष तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।