काठमाडौं । सरकारले गएको माघ २ गते नागरिक एप सार्वजनिक गर्याे । संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यले ल्याइएको नागरिक एप सबैले चलाउन भने पाएका छैनन् ।
यसमध्ये एउटा कारण हो, मोबाइलमा अर्कैको नाममा रहेको सिमकार्ड चलाउनु । अरुकै नाममा रहेको सिमकार्ड चलाउँदा नागरिक एपमा पहुँच राख्न सकिँदैन । यसपछि नेपाल टेलिकम र एनसेल अन्तर्गत अर्कैको नाममा दर्ता भएका सिमकार्ड बोक्ने ग्राहकले आफ्नो नाममा नामसारी गर्न थालेका छन् ।
तपाईंको सिमकार्ड तपाईंको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले पनि सुरक्षाको हिसाबले सिमकार्ड आफ्नै नाममा हुन जरुरी छ । तर धेरै ग्राहक अझै अन्यौलमा रहन सक्ने भएकाले तपाईंका लागि यो लेख उपयोगी हुने विश्वास गरेका छौं ।
नेपाल टेलिकम
यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसकालागि सुरूमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।
त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।
१. प्रिपेड
टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैले प्रयोग गरिरहेको हुनुपर्छ ।
यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ ।
त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।
२. पोस्टपेड
पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।
त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।
यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी ५ सय ६५ रुपैंया तिरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।
एनसेल
यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।
साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।
पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ । साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।
यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।
स्मार्टसेल
यदि तपाईं स्मार्टसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अन्य अन्य सेवा प्रदायकमा जस्तै स्मार्टमा पनि त्यही नै प्रक्रिया छ । त्यसका लागि तपार्ईं स्मार्टको कुनै पनि सेन्टरमा पुग्नुपर्छ ।
साथमा सिमकार्डमा नाम भएको व्यक्ति र सिमकार्ड लिने व्यक्ति दुबै उपस्थिति हुनुपर्छ । सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उसको वारिसनामा, उक्त व्यक्तिको नागरिकताको फोटोकपी भने आवश्यक छ ।
सिमकार्ड लिने व्यक्तिको हकमा उसको सक्कली नागरिकता, नागरिकताकाे एक प्रति फोटोकपी र एउटा फोटो आवश्यक पर्छ ।
यति भएसँगै तपाईंले कार्यालयमा गएर त्यहाँ रहेको एउटा फर्म भरी आफूले सिमकार्ड प्रयोग गरिरहेको तथ्य खुलाई एउटा निवेदन बुझाउनु पर्नेछ । यति गरेको खण्डमा तपाईंले प्रयोग गरिरहेको सिमकार्ड तपाईंकै नाममा आउने छ ।