काठमाडौं । भारतले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएपछि अब नेपालमा पनि कोरोना खोप अभियान छिट्टै सुरु हुने भएको छ । नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको भारतमा निर्मित कोभिशिल्ड भोलिबाट नै काठमाडौं ल्याउने प्रक्रिया सुरु हुनेछ ।
भारतले १० लाख मात्रा कोरोना विरुद्धको खोप अनुदानमा दिएको छ । कोभिशिल्ड सिरम इन्सिच्यूट अफ इन्डिया(एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । खोप आएको एक साताभित्र नै खोप लगाउन सुरु गरिने बताइएपनि खोप कार्यक्रम सञ्चालनको मिति सरकारले तय गरेको छैन । यद्यपी खोप आउने निश्चित भइसकेकाले नेपालीहरु आफ्नो खोप लाउने पालोको पखाईमा छन् । तर नेपालमा आउन लागेको कोभिशिल्ड खोप सबै व्यक्तिले लगाउन हुँदैन ।
किनकी कोभिशिल्ड उत्पादन गर्ने सिरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो खोप प्रयोग गर्ने सम्बन्धमा विभिन्न सर्तहरु राखेको छ । उसले भनेको छ, ‘यदि कोभिशिल्डमा पाइने पदार्थ(हरुबाट) पहिला देखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिहरुलाई कोरोनाको खोप लगाउन हुँदैन।’ कोभिशिल्डमा एल हिस्टीडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज,सोडियम क्लोराइड र सुईका लागि पानी रहेको छ । यस्तै, पहिला एलर्जीको समस्या नरहेको तर यो खोपको पहिलो मात्रा लगाएपछि एलर्जी देखियो भने पनि दोस्रो मात्रा नलगाउन भनिएको छ । यसैगरी खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने सिरमले सूचित गरेको छ ।
सिरमका अनुसार रगत सम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरुले कोभिशिल्ड खोप लगाउन हुँदैन । गर्भवति महिला र तुरुन्तै गर्भको योजना बनाएका र स्तनपान गराइरहेका महिलाहरुलाई यो खोप नलगाउन भनिएको छ । यसैगरी पहिला कोरोनाको अन्य कुनै खोप लगाएको छ भने पनि कोभिशिल्ड नलगाउन सुझाइएको छ । याे खाेपकाे परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समुहलाई पनि यो खोप दिन नहुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले गर्भवती, तुरुन्तै गर्भवति हुने योजना बनाएका तथा स्तनपान गराइरहेका महिला, एलर्जीको समस्या भएकाहरुलाई खोप नदिइने बताउनुभयो । उहाँले २/४ दिनमा खोप ल्याउने काम सकिएपछि स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइने जानकारी दिनुभयाे । त्यसपछि कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई चरणवद्ध रुपमा खोप दिइने उहाँले बताउनुभयो ।
खोप लगाउनु अघि स्वास्थ्यकर्मीलाई आफ्ना स्वास्थ्य समस्याबारे जानकारी गराउन सर्वसाधरणलाई आग्रह गरिएको छ भने स्वास्थ्यकर्मीहरुले पनि खोप दिनु अघि खोप लगाउने व्यक्तिको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिन भनिएको छ । यो खोप पाखुरामा(आई.एम) ०.५ एमएल दिन पर्ने सिरमले जनाएको छ । कोभिशिल्ड पहिलो मात्रा लगाएको ४ देखि ६ हप्ताको बीचमा दोस्रो मात्रा लगाउनुपर्नेछ । यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नपर्ने हुन्छ ।
कोभिशिल्ड खोपको साइड इफेक्ट सिरमका अनुसार कोभिशिल्ड लगाएपछि कोही - कोहीलाई खोप लगाएको ठाँउमा सुन्निने, दुख्ने, रातो देखिने तथा चिलाउने जस्ता सामान्य साइड इफेक्टहरु देखिन सक्नेछन् । यसका साथै, खोप लगाएको हात कमजोर भएजस्तो हुने, शरीरमा दुखाई, ज्वरो आउने, शरीर थकान महसुस हुने तथा वान्तासमेत हुन सक्छ । यो खोपले कोरोनाबाट कति समयसम्म सुरक्षा प्रदान गर्छ यसको एकिन नभएको सिरमले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ healthpati