नाइँ तमी बम्बै जन जाय, बर याई दुःखसुख बाडी खौला, मेरी बिन्ती छ । दुए काम गरला, दुःखसुख याई बाडला ... ।
खेमा यसो जन भणै खेमा । यो त हमरो बाध्यता हो खेमा । कईलाई निको लाग्दो हो अफनो घर, परिवार, प्राण प्यारीलाई छाडीबटी परदेश जान खेमा ? तै मेरी घाँटीकी घटगेडी है खेमा ... घाँटीकी घटगेडी ।
केही वर्षअघि सुदूरपश्चिमै छायांकन भएको डोटेली भाषाको चलचित्र धन्य मायाजालको ‘डाइलग’हो । दशैं मनाएर भारत पस्नेहरूले बूकिङ गरेर चढेको गाडीमा घन्किरहेको थियो, यो गीत ।
जबजब बसमा यी र यस्तै कथा परिवेश बोकेका गीतहरू बज्छन्, तब भारत जान लागेका यात्रुहरू त्यसमा आफैंलाई पाउँछन् ।
डोटीबाट गौरीफन्टा नाका हुँदै धनगढी पुगेकाहरू पनि त्रिनगर नाकामा झरे । नाकामा भारत जानेहरूको घुइँचो थियो ।
भारतको शहर मुम्बइबाट दशैं मनाउन एक महिनाअघि मात्रै घर आएका डोटी बडिकेदारका २४ वर्षीय करन विष्ट दशैंको टीका सकिएलगत्तै भारत जान त्रिनगर नाकामा पुगेका थिए ।
‘घर नआएको ३ वर्ष भइसकेको थियो । परिवारसँग दशैं मनाउन घर आएँ । तर अब खर्च चलाउन निकै समस्या हुन थाल्यो, त्यसैले फेरि रोजगारीका लागि भारत जाँदैछु,’ उनले भने, ‘यो हाम्रो बाध्यता हो ।’
दशैं सकिएसँगै भारत जानेहरूको त्रिनगर नाकामा दिनहुँ लर्को लाग्ने गरेको छ ।
सोमवार यही नाकामा ठेलमठेल गर्दै लाइनमै थिए, कैलाली चुरेका कमल बम । ‘कोरोनाको प्रभावले रोजगारी गुमेपछि घर फर्किएको थिएँ,’ बमले भने, ‘स्वदेशमा धेरै काम खोजेँ तर १० हजारसम्म पनि आम्दानी हुने केही भेटिनँ, त्यसैले बाध्य भएर फेरि भारत जाँदैछु ।’
१६ दिनमा १३ हजार नेपाली गए भारत
कोरोनाले भएको सामान्य रोजगारी पनि गुमेपछि छाक टार्न मुस्किल भएको भन्दै अहिले फेरि रोजगारीका लागि भारत जानेको लर्को छ ।
कोरोना त्रासकै बीच त्रिनगर नाकाबाट मात्रै दैनिक आठ सयको हाराहारीमा नेपाली भारततर्फ गइरहेका छन् ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुला र बैतडीका सीमानाकाबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारत प्रवेश गर्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन्, जसमा २४ सय ५० महिला र १४ सय ५ बालबालिका छन् ।
सुदूर र कर्णालीका विपन्न नागरिक परिवारसहित भारत पस्ने गरेका छन् ।
पछिल्लो १६ दिनकै अवधिमा ८ हजार ११४ जना भारतबाट स्वदेश फर्किएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जनाएका छन् ।
सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा ज्यान जोखिममा राखेर उनीहरू भारत पस्न बाध्य छन् । कैलालीको गौरीफन्टा नाकाबाट भारत जानेको संख्या अधिक छ ।
भारत पसेका नेपालीहरू सिमला, बैंग्लोर, नयाँ दिल्ली, मुम्बइलगायत शहरमा मजदूरीका लागि पुग्ने गर्छन् ।
प्रदेश सरकार : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर...
कोरोनाले प्रभावितहरूलाई लक्षित गर्दै प्रदेश सरकारले ल्याएका योजना किताबमै सीमित छन् । स्वदेशमै काम नपाएर नागरिक कोरोनालाई बेवास्ता गर्दै भारत पसिरहँदा प्रदेश सरकार भने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ छ । सरकारका मुख्यमन्त्रीदेखि मन्त्री र सांसद कार्यक्रमहरू उद्घाटन गर्नमै व्यस्त छन् ।
कुनै बेला भारतमा आफैंले पनि चौकीदारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एकछाक टार्न मुस्किल भएर भारत पस्नेहरूका समस्या समाधानमा चासो दिएका छैनन् ।
पदभार ग्रहण गर्ने बेला नै उनले रोजगारीका लागि भारत जानुपर्ने समस्याको अन्त्य गर्छु भनेर आश्वासन बाँडेका थिए । त्यसको ३ वर्ष बितिसक्दा पनि त्यस्तो कुनै संकेतसम्म पनि देखिएको छै न।
अहिले त कोरोना त्रासले स्वदेशमै पाइरहेको सामान्य रोजगारी पनि गुमेपछि विगतका वर्षभन्दा भारत जानेहरूको संख्या बढ्दो छ ।
मुख्यमन्त्री भट्ट समस्या समाधानका लागि नीति बनिरहेको दाबी गर्छन् ।
‘बेरोजगारलाई रोजगारी सिर्जना गर्ने, अनुदान दिने, आफैं उद्यमी हुन चाहनेहरूका लागि ऋण तथा सहुलियतको व्यवस्था गर्न सबै मन्त्रालयहरूले यसको नीति र विधि बनाइरहेका छन्, ‘मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘अब हामी यसलाई छिट्टै लागू गर्छौं । कोही कृषि गर्न चाहन्छ, कोही पर्यटन गर्न चाहन्छ, कोही व्यवसाय गर्न चाहन्छ, त्यही अनुसार गर्ने वातावरण बनाउँछौं ।’
‘सम्भव भएसम्म यहीँ नै रोजगारी सिर्जना गर्ने भनेर प्रदेश सरकार लागिरहेको छ । त्यसका लागि अगाडि बढिरहेको छ’, उनले थपे ।
जनताले मुख्यमन्त्रीको भाषणमा विश्वास गर्न छाडिसके, तर आश्वासन दिन भने अझै छाडेका छैनन् ।