काठमाडौं । अनलाइन मार्फत युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी खेलाउने र खेल्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेकाे छ ।
हालै महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जना र साेमबार १ जना गरी ७ जनालाई पक्राउ गरेको हो । त्यसमध्ये तीन जना भारतीय छन् ।
त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिलकुमार वंशल छन् । पक्राउ परेकाहरूमाथि सोधपुछ गरी सोमबार नवीन जैनलाई पनि पक्राउ गरेको हो ।
त्यस्तै यहाँ लगानी गरी उठेको पैसा सबै भारत पठाउने गरेका थिए । उनीहरूले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, लगायतमा पनि सट्टबाजी खेलाउने गरेका थिए ।
उनीहरूबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ ।
प्रहरीले अन्य ठाउँबाट पनि सट्टेबाज समूह पक्राउ गर्ने अभियान सञ्चालन गरेकाे छ । यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन सट्टेबाजीमा पक्राउ परेका विराटनगरका तीन जनाको सम्बन्ध पर्साको वीरगन्जलाई केन्द्र बनाएको एक भारतीय नेटवर्कसँग रहेको खुलेको थियाे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका ३ का सञ्जीव गुप्तालाई सट्टेबाजीको आरोपमा पक्राउ गरेको थियाे ।
प्रहरीका अनुसार नेपाली समूहले संकलन गरेको रकम सोझै भारतका गिरोहसम्म पुग्ने गर्छ । सट्टेबाजीमा हुने जित र हारको बीचमा नेपाली सट्टेबाजहरूले निश्चित कमिशन पाउँछन् ।