काठमाडौं। स्वास्थ्य मन्त्रालयले यसपालिका चाडपर्व, उत्सव तथा जात्रा कसरी मनाउने भनेर मापदण्ड तयार पारेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवकता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको छ।
अस्पताल तथा आइसोलेसनहरु भरिएको, संक्रमित हुनेदर निकै बढेको र डिस्चार्ज हुनेदर घटिरहेको उहाँले जानकारी दिनुभयो। अवस्था संवेदनशील बन्दै गएको र चाडपर्वहरु नजिकै आएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी पर्व तथा उत्सव मनाउन प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ।
गौतमले दिनुभएको जानकारी अनुसार यसपालिका चाडपर्वमा के गर्ने ? के नगर्ने ?
चाडपर्व तथा जात्रा उत्सव मनाउँदा व्यक्तिगततर्फ पाजना गर्नुपर्ने मापदण्ड
–एउटै परिवारका एकै ठाउँमा बस्ने व्यक्तिबाहेक अन्यसँग भेछघाट नगर्ने गर्नैपर्ने भएमा दुई मिटरको दूरी कायम गरेर मात्रै भट्ने।
–चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाट नगर्ने। गर्नै पर्ने भएमा सर्जिकल वा कपडाको तीन तहको मास्क अनिवार्य प्रयोग गर्ने।
–जात्रा वा चाडपर्व मनाउने कार्यक्रमस्थलमा प्रवेश गर्दा अनिवार्य रुपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने।
सबैले लागु गर्नुपर्ने मापदण्ड
–धार्मिकस्थलमा हुने भेला, कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने।
–अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार गर्ने।
–अंगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने
–धेरै व्यक्तिले प्रयोग गर्नसक्ने सतहहरु, देवी देवताका मूतिहरु नछुने।
–नाक आँखा मुख सकेसम्म नछुने, छुनै पर्ने भएमा साबुनपानीले हात धोएर वा स्यानिटाइजर प्रयोग गरेर मात्रै छुने।
–खोक्दा वा हाछ्यूँ गर्दा अनिवार्य मुख छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने।
–सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट गर्ने।
निम्न व्यक्तिहरुले घरपरिवार बाहेक बाहिरका व्यक्ति सहभागी हुने कार्यक्रममा सहभागी नहुने।
–ज्वरो, खोकी वा श्वास–प्रश्वासमा समस्या देखिएका व्यक्तिहरु
–६० वर्षमाथि उमेरका व्यक्तिहरु,
–१२ वर्ष मुनिका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु
–रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु
–मधुमेह, क्यान्सर मुटुरोग, उच्च रक्तचाप, मिर्गौला कलेजो सम्बन्धि समस्या भएका, दमलगायत श्वास–प्रश्वास सम्बन्धि दीर्घरोग भएका व्यक्तिहरु।
–अंग प्र्रत्यारोपण गरेका व्यक्तिहरु, शरीरमा मेडिकल उपकरणहरु राखेका व्यक्तिहरु।
–हालसालै सर्जरी गरेका व्यक्ति र कुनैपनि रोग लागेर विगत १५ दिनभित्र निको भएका व्यक्तिहरु
कार्यक्रम वा पूजाहरु आयोजना गर्दा पालना गर्नुपर्ने मापदण्ड
–भीडभाड व्यवस्थापनका लागि तालिम प्राप्त स्वयं सेवक वा जनशक्तिको व्यवस्था गर्नुपर्ने
–हात धुनका लागि साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने
–कार्यक्रमस्थलको सरसफाइ गर्नुका साथै हरेकदिन दुई पटक निसंक्रमिकरण गर्नुपर्ने
–धेरै सम्पर्कमा आउने सतहहरु रेलिङ, बार, देवीदेवताका मूर्तिहरु समय–समयमा सफा गर्नुपर्ने
–कार्यक्रमको अवधि जतिसक्दो छोटो राख्ने
–कार्यक्रमस्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिड–१९ सम्बन्धि पोस्टर पम्पेटहरु पर्याप्त र अनिवार्य टाँस्ने।
–कार्यक्रमस्थलमा भौतिक दूरी कायम गराउनका लागि संकेत चिन्ह बनाइ सहभागीहरुलाई पालना गर्न लगाउने।
–कार्यक्रम प्रवेशद्वारमा तापक्रम नाप्ने व्यवस्था गर्ने र १००.४ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम देखिएकालाई प्रवेश नदिने। तुरन्त नजिकको स्वास्थ्य संस्थामा पठाउने।
–स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवालासँग समन्वय गरी स्वास्थ्य मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने।
कार्यक्रमस्थलमा धुम्रपान, मध्यपानको सेवन पूर्णरुपमा निषेध गर्ने।
–स्वास्थ्य मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने
–फोहोर व्यवस्थापनका लागि अनिवार्य रुपमा बिर्काे भएका फोहोरदानीको व्यवस्थापन गर्न र सुरक्षित तवरले फोहोर व्यवस्थापन गर्ने।
–सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने। गर्नै परे स्वस्थ व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र दुई मिटरको भौतिक दूरी कायम गरेर मात्रै वितरण गर्ने
भीड कम गर्ने स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेर देहाय बमोजिमका उपाय अपनाउनु पर्नेछ।
उपस्थिति कम गर्न विभिन्न रणनीतिक उपाय अपनाउने, जस्तै– हरेक परिवारबाट एक जना मात्रै सदस्य उपस्थित गराउने।
–प्रसाद तथा फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्ने व्यवस्था मिलाउने
–नदी वा तलाउमा सामूहिक रुपमा ननुहाउने र अन्य वैकल्पिक व्यवस्था मिलाउने।