वीरगञ्ज । अरविन्द सिंह (४३) पेशाले शिक्षक हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । नियमित शारीरिक व्यायाम गर्ने उनलाई कुनै दीर्घ रोग थिएन । तर साउन तेस्रो साता ज्वरो आउनुका साथै खोकी लाग्यो । वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा पुगेका कारण पीसीआर टेष्ट गराए । रिपोर्ट नेगेटिभ आयो तर स्वास्थ्य स्थिति जटिल बनेपछि हेलिकोप्टर चढेर २१ साउनमा काठमाडौंको मेडिसिटी आए ।
त्यहाँ पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि पाटन कोभिड अस्पतालको आईसीयूमा भर्ना भए । संक्रमणमुक्त भएपछि मुटुमा समस्या देखियो । गंगालाल अस्पतालमा भर्ना भएर उपचार गराए । अहिले वीरगञ्जमा फर्किएका उनको कोरोना संक्रमण अनुभव उनकै शब्दमा:
कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएकाले साउन १९ गते स्वाब दिएर वीरगञ्जस्थित कोरोना अस्पताल गण्डकमा भर्ना भएँ । भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो । त्यसपछि प्रभु अस्पतालमा सिफ्ट भएँ । साथीभाइलाई घर पठाएँ । तर राति ११ बजेपछि खोकी सुरु भयो । नर्सले औषधि दिइन्, तर ठीक भएन । खकारमा रगतको स–साना ढिक्का देखियो । खोक्दाखोक्दा यति गलेँ कि बेसिनसम्म पनि जान नसक्ने भएँ । सँगै आएका साथीहरुलाई बेक्कार पठाएछु जस्तो लाग्यो ।
धन्न वीरगञ्जमा पीसीआर पोजेटिभ आएन
बिहान ९ बजेतिर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई दाइले फोन गर्नुभयो । ‘तिमीलाई गाह्रो भएको छ भन्ने सुनेँ, हेलिकप्टर पठाइदिन्छु, काठमाडौं आएर उपचार गराउनू । काठमाडौं आउने भए चाँडै खबर गर्नु, मौसम बिग्रियो भने हेलिकप्टर आउन सक्दैन’ भन्नुभयो । मैले सल्लाह गरेर खबर गर्छु भनेर फोन राखिदिएँ । कोभिडको उपचार जहाँ गरे पनि उस्तै त हो, किन काठमाडौंमै किन जानुपर्यो र ? भन्ने थियो । तैपनि चिकित्सकहरुसँग सल्लाह सुरु गरेँ । जो–जोसँग सल्लाह लिएँ, सबैले काठमाडौंमा उपचार राम्रो हुन्छ, हेलिकोप्टर आउँछ भन्ने जानु भन्ने सुझाव दिन्थे । हेलिकप्टर आउने भयो । तर मैले घरमा भनेको थिइनँ । डाक्टर लक्ष्मी थापाले गाली गरेपछि एउटा भाइलाई पठाएर आरती (श्रीमती)लाई ल्याउन लगाएँ । फर्केर नआउन पनि सक्छ भनेर सबैले एकपटक भेट्न लगाएका रहेछन् ।
अहिले सम्झिँदा, वीरगञ्जमै कोरोना पोजेटिभ आएको भए हेलिकप्टर आउने थिएन, एम्बुलेन्समा जान सक्ने अवस्था थिएन । म नबाँच्न पनि सक्ने रहेछु । संयोग मान्नुपर्छ, वीरगञ्जमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसैले हेलिकोप्टरले मलाई काठमाडौं पुर्यायो ।
हेलिकोप्टरले टिचिङ अस्पतालको गेट अगाडि ओराल्यो । तर बेड खाली नै रहेनछ । एम्बुलेन्समा पाटन अस्पताल लगियो । तर त्यहाँ पनि पाटन अस्पताल कोभिड अस्पताल हो, नन कोभिडलाई राख्न सकिन्न भन्ने जवाफ आयो । अब कहाँ जाने ? मित्र डाक्टर राकेश झाको साथी मेडिसिटीको इमर्जेन्सीका इन्चार्ज रहेछन् । उहाँहरुको कुराकानी भयो । जानेबित्तिकै भर्ना गरे, एक्स रे, सिटी स्क्यान लगायतका टेष्ट सुरु गरे । खोकी रोकिएको थिएन । खोक्दा रगत पनि आइरहेको थियो ।
भोलिपल्ट बिहान (२२ असोज) पीसीआर टेष्टका लागि स्वाब संकलन भयो । भाइहरुले राति सिफ्ट गर्ने कुरा सुनाए । लाग्यो, अस्पतालकै अर्को वार्डमा सार्न खोज्दैछन् । झर्ने बेलातिर पो थाहा पाएँ मलाई त पाटन ल्याएका रहेछन् । पाटनमा उपचार सुरु गर्दा खासै होस त थिएन, तर नर्सहरु नजिक नआउने भएपछि मलाई कोरोना भएछ भन्ने अनुमान गरेँ ।
नजिकका आफन्त बितेको पीडा
मेरो बेडको देब्रे साइडमा एउटा निलो फाइल देखें । दाहिनेतर्फ हरियो ट्वाइलेट चेयरमा कालो अक्षरमा विजय राजकर्णीकार लेखिएको रहेछ । दाइ डिस्चार्ज भएपछि फाइल र ट्वाइलेट चेयर छोडेर जानु भएछ भन्ने लाग्यो । चौथो दिनमै होला, एकजना नर्सले वाइफाइको पासवर्ड दिइन् । फेसबुकमा काठमाडौंमा मेरो के छ र ? जे छ वीरगञ्जमा नै छ भनेर लेखिएको समवेदना हेरें । भाइहरुलाई म्यासेज पठाएँ, हेर न कसैले विजय दाइलाई समवेदना लेखेको रहेछ भनेर । छेउमै झापाका एकजना बिरामी थिए, उनले ‘वीरगञ्जका विजय यही बेडमा बितेका हुन् । अक्सिजन बढेको थिएन, भेन्टिलेटरमा बस्न मान्नुभएन, बित्नुभयो,’ भनेर सुनाए । पक्का भो, जुन बेडमा विजय दाइ बित्नु भएको थियो, त्यो बेडमा म स्वयम् रहेछु ।
नर्सलाई विजय दाइको फाइल र चियर हटाइदिन आग्रह गरें । तर उनीहरुले ‘अस्पतालको आईसीयूमा मानिस मरिहाल्छ नि, त्यसले के हुन्छ र ? भने । मलाई भने अत्यास लागिरहेको थियो । छैठौं दिनतिर राउण्डमा आएका डाक्टरहरुलाई भनेपछि फाइल र चियर हट्यो ।
विजय दाइको परिवारसँग मेरो निकट सम्बन्ध छ । त्यो परिवारका तीन सदस्य गुमाउनु परेको छ । ममता राजकर्णीकार दिदीसँग भाइटीका लगाउने, राखी बाँध्ने गरेको थिएँ । कोरोना टेष्ट हामीले सँगै गराएका थियौं, दिदी मलाई अलि गाह्रो भएको छ अस्पताल जान्छु है भन्दा ‘मैले अस्ति दिएको रक्षाबन्धन लगाएर जानू है’ भन्नुभएको थियो । दिदी बित्नु भएपछि मलाई त्यही कुरा झल्झली सम्झना आउँछ ।
बाँच्नुपर्छ भनेर सुत्नै छोडेँ
अस्पतालमा घोप्टो पारेर सुताउने रहेछ । एक दिन सुतिरहेको बेला कसैले पछाडिबाट घाँटी थिचेको जस्तो महसुस भयो । उठ्न खोजेँ, सकिन । अब बाँच्दिन भन्ने लाग्यो, साढे चार वर्षकी छोरीलाई सम्झें । म कहाँ गएको छु, के भएको छ उनलाई थाहा थिएन । श्रीमतीको पनि जागिर छैन । छोरीको दुर्दशा हुने भो भनेर डराएँ । भएभरको बल लगाएर उठेँ ।
फर्केर जान पाउँछु कि पाउँदिन ? छोरीलाई भेट्नसक्छु कि सक्दिन ? भनेर छटपटिएँ । सुतेँ भने बेडमै मर्छु भन्ने डर भयो । कुरा गर्ने कोही मान्छे पनि हुन्थेन । गीत सुन्ने र गुनगुनाउने प्रयास गरेँ, आवाज नै निस्किएन । एकदमै गाह्रो भएपछि नजिकका साथीभाइलाई फोन गरेर अब बाँच्न सक्दिनँ भनेर बेस्सरी रोएँ । उनीहरुले सम्झाउने प्रयास गरेँ ।
निदायो भने मरिन्छ भन्ने किन पनि भयो भने एकजना महिलालाई मेरै सामुन्नेको बेडमा वित्नुभयो । अक्सिजन लगाइएको थियो । उनी निदाएको बेला अक्सिजन मास्क हटेछ । सिस्टरलाई बोलाएँ, दौडिएर आए । डाक्टरलाई बोलाए । अक्सिजन घटेर ४३/४४ मा पुगिसकेको रहेछ । बेलुन लगाएर अक्सिजन दिए, तर बचाउन सकेनन् । यसले मलाई झन डर लाग्यो । अचेत भएर सुत्दा कुनै कारणले अक्सिजन मास्क खुस्कियो भने कसैले बचाउन सक्दैन । त्यसैले मैले नसुत्ने निर्णय गरें । तर विहानपख दुई बजेपछि भने केहीबेर निदाउँदो रहेछु ।
रेमडेसिभिर छातीमा टाँसेर सुतेँ
मेरो अवस्था गम्भीर भएपछि वीरगञ्जबाट केही साथीहरुले ५ भाइल रेमडेसिभिर पठाएका थिए । नेपालमा प्रयोगका लागि सरकारले अनुमति दिइसकेको थिएन, तर वीरगञ्ज लगायतका स्थानमा प्रयोग भइरहेको थियो । एक भाइलकै ४०/५० हजारसम्म परेको सुनेको थिएँ । मेरा लागि साथीहरुले जुटाएछन्, सुदिप लामा दाइले काठमाडौं ल्याउनुभयो ।
औषधि पाएपछि मलाई पनि बाँच्छु झै लाग्यो । बाँच्ने चाह कति थियो भने रेमडेसिभिर छातीमा टाँसेर सुतेँ । राति कसैले लगिदिन्छन् कि भन्ने लाग्यो । डाक्टरले कसैले लैजाँदैन भन्थे, तैपनि मैले त्यसरी सुत्न छाडिनँ । हुन पनि यो औषधिले मलाई धेरै हदसम्म मद्धत पनि गरेको छ ।
माधव नेपालले सुनाए आईसीयू अनुभव
दिनमा दुईपटक राउण्ड हुन्थ्यो । अरु बेला एक्लै । परिवारका सदस्य पनि नजिक नहुने । बेलाबेला साथभाइ र नेताहरुले भने फोन गरेर सोधीखोजी गर्नुहुन्थ्यो । नेकपा बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फोन गर्नुभयो, के कस्तो छ सोध्नुभयो । मेले आईसीयूमा एकदमै पीडा छ, निस्केपछि आईसीयूको अनुभव सुनाउँछु भनेँ ।
उहाँले तपाईंको निस्केपछि सुनाउनुहोला, मेरो पीडा फोनमै सुनिहाल्नुस् भनेर आफ्नो अनुभव सुनाउनुभयो । ‘म पनि बिरामी भएर भर्ना भएँ, जम्मा ९ बेडको आईसीयू थियो । भर्ना भएकै दिन राति छेउको बेडको मान्छे मर्यो, डर लाग्न सुरु भयो । भोलिपल्ट अर्कोतिरको बिरामीको मृत्यु भयो । अब त मेरै पालो आयो भनेर डर लाग्न थाल्यो । त्यसैले आईसीयूमा मानिस मर्छन्, छटपटी हुन्छ । मनोबल कमजोर नबनाउनुस्’ भन्नुभयो । यसले मलाई मनोबल बढाउन मद्धत गर्यो ।
जनरल वार्डको समस्या
१५ दिन आईसीयू बसेपछि मेरो कोभिड टेष्ट नेगेटिभ आयो, ज्वरो आउन छोड्यो, कफमा रगत पनि देखिएन । अक्सिजन पनि १५ लिटरबाट घटेर ७ र ५ लिटरसम्म आइसकेको थिए । मलाई अब बाँच्छु भन्ने भइरहेको थियो । त्यसपछि मलाई आईसीयूबाट जनरल बेडमा सारियो ।
जनरल वार्डमा १५ वटा बेड रहेछ । भर्खर कोरोना पोजेटिभ भएर आएका तर शारीरिक अवस्था राम्रो भएकाहरुलाई जनरल बेडमा राखिएको रहेछ । त्यहाँ बस्दाबस्दै सिरियस भएकालाई रातारात आईसीयूमा सारेको पनि देखेँ । मानसिक रुपमा विक्षिप्त भएका बिरामी पनि त्यहीँ थिए । कोही बिरामी लड्यो भने अरुले छुँदैनथ, आईसीयूमा रहेका सिस्टरलाई बोलाउनु पर्थ्यो । एकजना दाइ कोभिड पोजेटिभ मिर्गौला रोगी थिए । उनी रातभरी नाङ्गै हिँडिदिन्थे । जसको बेडमा पनि गएर बसिदिन्थे । आतंक मच्चाउथे । वीरगञ्ज घडिअर्वा पोखरीकै एक जना मिर्गौला रोगी चर्को स्वरमा कराउथे, मलाई मार्न लागे भनेर उफ्रिन्थे । त्यसरी आत्तिएको देखेपछि मुटुले ठाउँ छोड्थ्यो ।
मेरो रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो । पोजेटिभ आइसकेका बिरामीसँग राख्दा जोखिम हुने देखियो भनेपछि भदौ २३ गते जनरल क्याबिनमा सिफ्ट भएँ । भदौ २५ गते ईसीजी र ईको गरेँ । इको गर्दागर्दै कार्डियोलोजिष्ट डाक्टर कुनालले ईको ‘तपाईंलाई त मुटुको बाथ रोग छ । कसरी आईसीयूबाट बाँचेर यहाँसम्म आउनुभयो । मुटुको भल्ब ०.८९ मात्रै छ । भल्ब फेर्नुपर्छ’ भन्नुभयो । त्यसपछि मेरो सातो गयो ।
गंगालालका डाक्टर रामेश कोइरालालाई सम्झें । सुजित महत दाइमार्फत उहाँको सम्पर्कमा पुगेपछि रिपोर्ट ह्वाट्सएप गरें । उहाँले भल्ब क्रिटिकल छ, तर आत्तिनुपर्दैन । शल्यक्रिया गरेर भल्ब फेर्नुपर्छ वा बेलुन लगाएर फुक्नुपर्छ, भदौ २६ गते शुक्रबार गंगालालमा भर्ना हुनू भन्नुभयो ।
गंगालाल गएँ, सबै नर्मल भएको भए २८ गते नै मेरो शल्यक्रिया हुने थियो । तर अक्सिजन लिइरहेको थिएँ । मंगलबार अक्सिजन हटेपछि बिहीबार शल्यक्रिया गर्ने तय भयो । रगत जाँच गर्दा न्युट्रोफिन्स बढेको देखियो । ७ दिनको एन्टीबायोटिक ल्याएर चढाइयो । फेरि खोकी सुरु भयो । मुटुमा रगतको ढिक्का छ कि छैन टीईई गर्न ल्याब गए । टीईईसँगै ईको गरेर हेर्दा त मुटुको भल्ब फुकिसकेको रहेछ, ०.८९ बाट बढेर १.४ भएको रहेछ । कुनै एंगलबाट १.८ समेत देखिएको रहेछ । अहिले केही गर्न पर्दैन भन्ने निष्कर्षमा डाक्टरहरु पुगे ।
फर्किएर वार्डमा जाँदा श्वास फेर्न गाह्रो भयो, हनहनी ज्वरो आउनुका साथै खोकी लाग्न थाल्यो । डाक्टरहरुले पुनः संक्रमणको आशंका गरे । बिहीबार एकदमै गाह्रो भयो । अक्सिजन लगाउन सुरु भयो । तीन–चार वटा औषधी र इन्जेक्सन चलाउँदा पनि ज्वरो घटेन । आइतबार टिचिङबाट आएर स्वाब लिएर गए । धन्न, कोभिड रिपोर्ट नेगेटिभ थियो ।
इन्जेक्सनको डोज सकिएपछि गंगालाल भर्ना भएको १२ औं दिनमा असोज ६ गते डिस्चार्ज गरे । फोक्सो चेकजाँचका लागि डाक्टरले तीन महिनापछि बोलाएका छन् । मुटुको लागि ६ महिनासम्म औषधि खानुपर्ने भएको छ ।