डोटीका किसान धान काट्ने र भित्र्याउने कार्यमा व्यस्त भएका छन् । एकातिर कोरोनाको त्रास अर्कोतिर यहाँका किसानलाई धान भित्र्याउने चटारो चलेको छ ।
‘धानको पाक्ने समय त केही समय पछि हो तर, बदेल,बादर, लंगुर लगायतका जंगली जनावरहरुको डरले धान अलि छिट्टै काट्न सुरु गरेका हौं’, शिखर नगरपालिका-३ का कृषक शेर बहादुर बोगटीले भने ।
चाँडै पाक्ने जातको धान खेती गरेका कतिपय किसानले भने केही समय अगाडि नै धान काटेर भित्र्याएका छन् । कोरोना भाइरस कोभिड-१९ को यो विषम परिस्थितिमा देश तथा बिदेशका विभिन्न ठाउहरुमा रहेका दाजुभाइहरु गाउघरमा भित्रीएको कारण धानबाली भित्र्याउने कार्य ढिला नभई छिट्टै हुने कृषकहरुको भनाइ छ ।
यसवर्ष समयमै मनसुन भित्रिएका कारण किसानले पनि छिट्टै रोपाइँ गरेका थिए तर, मनसुन अवधिभर यो वर्ष वर्षा भएपनि पर्याप्त मल नपाएको कारण धान उत्पादनमा प्रभावित भएको छ । उन्नत जातको धानमा बाला नै लाग्न सकेन भने अरु जातका धानमा पनि धान राम्ररी नफलेको शिखर नगरपालिका-३ आली अतुरालीका कृषक खगेन्द्र बहादुर बोगटीको भनाइ छ ।
पर्याप्त मात्रामा पानी नपरेका कारण धान खेती सप्रिन नसकेको कृषक स्थानीय कृषकहरूको भनाइ छ । ‘पाकेको धानमा दाना लागेको छैन’, पराल पनि काम नलाग्ने भएको छ, उनले भने ।
डोटीमा १० हजार ७ सय १० हेक्टर जमिनमा धान खेती गरिन्छ । यद्यपि, बढ्दो जलवायु परिवर्तनको कारण धान खेती गर्ने जमिन बर्सेनि घट्दै गएको छ । सिँचाइ सुविधा नहुनु, किसानले समयमै मल प्राप्त गर्न नसक्नु,कृषिमा मर्यादित नहुनु लगायतका कारणले धान उत्पादन प्रभावित हुने गरेको छ ।
रोपाइँ गर्ने बेला मनसुन भएपनि धान पसाउने बेला पानी नपरेका कारण यसवर्ष खासै धान खेती प्रयाप्त मात्रामा राम्रो हुन नसकेको दिपायल शिलगढी नगरपालिकाका कृषि शाखाका सुचना अधिकारी दुर्गाप्रशाद ओझाले बताउनुभयो । ‘मल नपाउदा धानमा विभिन्न किसिमको प्रकोप पनि देखियो’, उनले अगाडि थपे–‘स्थानीय जातको धानमा त खास्सै बाला नि लागेन ।’ स्थानीय तथा उन्नत जातको धानमा बाला नलाग्दा किसान समस्यामा छन् ।