काठमाडौं-
६ दिन लामो संवाद हिनता तोड्दै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीसँग एक्लै भेट नगर्ने बताएका अर्का अध्यक्ष दाहालले बरिष्ठ नेता झलनाथ खनाललाई साथै लिएर बालुवाटार पुगेका छन् ।
बिहान १० बजेदेखि जारी छलफलमा ओली, दाहाल र खनासँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।
ओलीले साउन १३ गते निर्धारित स्थायी समिति बैठक एकलौटी रुपमा स्थगीत गरेको भन्दै दाहाल आक्रोशित बनेका थिए । त्यसपछि दुई अध्यक्षबीच भेटवार्ता नै रोकिएको थियो ।
यसबीचमा दुई अध्यक्षबीच संवाद गराउन महासचिव विष्णु पौडेललगायतका नेताहरु सत्रिय भएका थिए । स्थायी समिति सदस्यहरुको दबाबपछि प्रचण्ड आज बालुवाटार पुगेका हुन् ।
जारी छलफलमा स्थायी समिति बैठकअघि बढाउने, पार्टीको विवाद हल गर्नेलगायतका विषयमा कुराकानी भइराखेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीच प्याकेजमै सहमति खोज्ने विषयमा पनि छलफल भएको छ ।
असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागेका छन् भने प्रचण्डलगायतका नेता राजीना दिनै पर्ने पक्षमा छन् । तर, ओली प्रधानमन्त्री पद नछाड्ने अडानमा छन् ।