काठमाडौं । फेसबुकले आउँदो साल सन् २०२१ मा आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने भएको छ । फेसबुकले स्मार्ट ग्लास ल्याउन रेबानको निर्माता लक्सोटिकासँग सहकार्य थालेको हो । यसको घोषणा हालै भएको फेसबुक कनेक्ट भर्चुअल कन्फ्रन्सको दौरान भएको थियो । जहाँ कम्पनीले आउँदो पुस्ताको क्वेस्ट टू वायरलेस भीआर हेडसेटको डेमो प्रदर्शन गरेको थियो ।
कस्तो होला फिचर ?
रेबानका स्मार्ट ग्लासहरुमा केवल इन्टिग्रेटेड डिस्प्ले मात्रै हुने छैन, सँगसँगै भ्वाइस असिस्टेन्सबाट समेत लैस हुनेछ । यसलाई स्मार्टफोनसँग पेयर गर्न सकिनेछ ।
यद्यपी फेसबुकले स्मार्ट ग्लासको नाम के हुनेछ र त्यसको मुल्य कति हुनेछ भन्ने जस्ता विषयको जानकारी भने बाहिर ल्याएको छैन ।
फेसबुकले एक ब्लग पोस्टमा भनेको छ, ‘हामी सन् २०२१ मा रेबान ब्राण्डेड स्मार्ट ग्लासको एक जोडी बनाउने छौं र त्यसलाई सार्वजनिक गर्ने छौं । जसले इनोभेटिभ प्रविधि तथा फेशन फरवार्ड स्टाइललाई एकआपसमा जोड्नेछ र मानिसहरुलाई साथी तथा परिवारसँग अझ राम्रोसँग सम्पर्कमा रहन सहयोग पुर्याउनेछ ।’
यद्यपी लक्सोटिकासँग फेसबुकको साझेदारी कम्पनीको आरिया रिसर्च प्रोटोटाइप प्रोजेक्टभन्दा फरक हुनेछ । जसमा कम्पनीले एआर ग्लासमा काम गरिरहेको छ ।
यसै महिनादेखि क्याम्पस र सर्वसाधारणमा स्मार्ट ग्लासको परीक्षण सुरु गरिने कम्पनीले बताएको छ ।
त्यसो त अग्मेन्टेड रियालिटी तथा स्मार्ट ग्लासमा काम गर्नेमा मार्क जुकरबर्गको फेसबुक मात्रै एक्लो कम्पनी होइन । गुगल, एप्पल लगायतका अन्य कम्पनीहरुले समेत एआर ग्लासमा काम गरिरहेका छन् ।