डोटी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड १९ को प्रतिर्कायका लागि अग्रपंक्तिमा रहेर सेवा दिने सरकारी निकायहरुलाई व्यक्तिगत सुरक्षा समाग्री हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटी द्धारा संचालित पश्चिम विपद् पुर्व तयारी परियोजना अन्तरगत शिखर नगरपालिकाका ३ वटा वडा कार्यालय, २ वटा प्रहरी चौकी, ३ वटा स्वास्थ्य चौकिलाई ४० हजार बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
परियोजनाको कार्य क्षेत्र रहेका शिखर नगरपालिका वडा न. ८, १० र ११ मा रहेका स्वास्थ्य चौकिलाई ४ सय थान सरजिकल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स त्यसैगरी वडा कार्यालयहरुलाई ३ सय थान सरजिकल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स र प्रहरी चौकीलाई ३ सय थान सरजिकल मास्क, १७ थान सेनिटाइजर र २ सय थान ग्लोप्स शाखाका सभापती लक्षिराम कुवरले हस्तान्तरण गरेको परियोजनाका कर्मचारी सुवास श्रेष्ठले जानकारी दिए ।
व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य समाग्री प्रदान गरेकोमा शाखालाई धन्यवाद दिदै स्वास्थ्य समाग्रीहरुले आफ्नो व्यक्तिगत सुरक्षाका लागि सहयोग पुग्ने र यस्ता कार्यहरुले काममा थप हौसला र उर्जा प्राप्त हुने स्थानिय जनप्रतिनिधिहरुले जानकारी दिएका छन ।
यसैगरी पर्विचौकी गाउँपालिकाको वडा न. १ र ४ मा रहेका स्वास्थ्य चौकी, प्रहरी चौकी र वडा कार्यालयहरुलाई पनि व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको शाखाका सभापती लक्षिराम कुवरले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जिल्ला तथा परियोजनाको कार्यक्षेत्रमा विभिन्न गतिविधिहरु गदै आइरहेको छ ।