शालिभान साउँद
डोटी । असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ ।
आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् । विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन ।
त्यस्तै आज घर र समाजमा शान्तिको कामना गर्दै सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ ।
परम्परा अनुसार भाद्र १ गतेका दिन “लिस्नु” गाड्ने चलन छ । चलन अनुसार गाउँका ग्वाला–गोठालाहरुले बाटोको छेउछाउमा सिमल, मेल, सल्ला आदिको बोट जमिनमा गाड्छन । गाडीएको “लिस्नु” वरिपरि पातपतिङगरले एक महिना सम्म छोप्दै जान्छन् ।
असोज १ गते राती सबैले आ–आफ्नो घर बाट आगोको राँको बालेर “लिस्नु” गाडेको ठाउमा पुगि एकैसाथ त्यसको वरिपरि पाँच पटक परिक्रमागरी शवलाई दाहसंस्कार गरे जस्तै दाहमट्टी दिईन्छ । यस लाई नै ‘बुढी पोल्ने’भनिन्छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको स्थानीयहरु बताउ छन ।
गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलि अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिन्छ।
यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बुढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ। साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ। यो पर्व प्रदेश सातका डोटी, डडेल्धुरा बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा मनाउने गरिएको छ।