नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले सरकारकाे पीसीआर ल्याब निकै खर्चिलो भएको र अहिले स्थापना भएका ल्याबको क्षमताले नेपालका लागि पुग्ने भएकाले ल्याबको सङ्ख्या बढाउने विषयलाई रोक्नुपर्ने बताउनुभयो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा कोभिड–१९ सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले हरेक पालिकाले डोजर किने जस्तो गरी पीसीआर मेसिन किन्ने लहर चलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । करोडौँ खर्च गरी पीसीआर मेसिन खरिद गर्न नहुने उल्लेख गर्दै उहाँले व्यापारीहरुले पीसीआर मेसिन बिकाउन हल्ला चलाउने गरेको र नेतृत्वकर्ताहरु त्यसको पछि लाग्ने प्रवृत्ति देखा परेको बताउनुभयो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले पनि पीसीआर ल्याबको सङ्ख्या नेपालमा धेरै भइसकेको बताउनुभयो । उहाँले पीसीआरको विकल्पमा एन्टिजम परीक्षण र एन्टिबडी परीक्षण हुने र ती परीक्षण अहिलेका पीसीआर मेसिनबाट हुन नसक्ने भएकाले कोभिड नियन्त्रणमा आएपछि पीसीआर मेसिनको काम नलाग्ने बताउनुभयो ।
पीसीआरले कुनै पनि रोगको जिनको परीक्षण नगर्ने भएकाले नेपालमा ती मेसिन काम नलाग्ने स्थितिमा आउन सक्ने बताउनुभयो । उहाँले पछिल्लो समय राजनीतिक रुपमा नै पीसीआर ल्याब बढाउँदै जाने प्रवृत्ति देखा परेकाले त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।
अहिले नेपालमा सरकारी र निजी गरी ४८ पीसीआर ल्याब स्थापना भइसकेका छन् । अहिले पनि कतिपय पालिकाले पीसीआर ल्याब निर्माण गर्ने भन्दै अगाडि बढिरहेका छन् । नेपालमा अहिले स्थापना भएका पीसीआर ल्याबबाट दैनिक २५ हजारभन्दा बढीको परीक्षण सम्भव भएको उनीहरुको भनाइ छ ।
सरोकारवालाहरुले पीसीआर ल्याब निर्माण गर्नुलाई राजनीतिक विषय बनाउन नहुने पनि बताएका छन् ।
Source:ujyaaloonline