भदौ २३, अछाम
अछामको रामारोशन गाँउपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रमा भएको स्वास्थ्य शिविरमा सोमबार करिब ४ सय जनाले स्वास्थ्य सेवा तथा परार्मश सेवा लिएका छन् ।
स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको शिविरमा ३ सय १५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।
रामारोशन गाउँपालिका, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको समन्वय र जिल्ला अस्पताल अछामको प्राविधिक सहयोगमा रामारोशनको सैनिबजार र धनेसल्लामा आयोजना गरिएको शिबिरमा ५९ जनाले स्वास्थ्य परार्मश सेवा लिएका स्वास्थ्य कार्यालय प्रमुख ढुंगानाले बताए ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्वास्थ सेवा लिन असहज परिस्थिति उत्पन्न भएको बेलामा प्रभावित क्षेत्रमै गएर स्वास्थ सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाको भनाई रहेको छ ।
दुई स्थानमा सम्पन्न भएको स्वास्थ्य शिविरमा २० जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
शिबिरमा आएका अधिकांस बिरामीहरू उच्च रक्तचाप, पेटदुख्ने समस्या, मानसिक समस्या, महिलाहरूमा तल्लो पेट दुख्ने समस्याका बढि देखिएको शिबिरमा सहभागि डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए ।
विपतको समयमा गाउँ घरमै स्वास्थ सेवा पाएपछि स्थानिय नागरिक खुसी भएका छन् ।