भदौ २०,नेपालगञ्ज । बन्दाबन्दीको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुनेगरेको पाइएको छ । बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।
माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती हराएका मध्ये पाँचजना भेटिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
बन्दाबन्दीले सवारी साधन नचलेको, एक जिल्लाबाट अर्को जिल्लामा कठिनाई भइरहेको बेलामा युवतीलाई राम्रो कामको बहानामा जोखिमपूर्ण यात्रामा लगिएको पाइएको हो ।
माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले विगतमा जसरी भारत तथा तेस्रो मुलुक नै पु¥याउन नसकेपनि दलालले किशोरीहरुलाई आन्तरिक बेचबिखनको चपेटामा पारेको बताए । उनले भने, ‘बन्दाबन्दीमा आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’
बन्दाबन्दीले बेरोजगारको समस्या बढाएको छ । दलाललाई प्रलोभनमा पार्न सजिलो भएको छ । बन्दाबन्दीमा हराएका युवतीहरुले फोन र सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको पाइएको छ ।
यो वर्ष बाँके नाकाबाट ५ सय ८५ जना हराएको निवेदन परेको छ । त्यसमा २ सय ८० जना फेला परेका छन् । यो तथ्यांक विगतको भन्दा कम हो । चैत्र महिनापछि भारत तथा तेस्रो मुलुक जान नपाएकाले जोखिमपूर्ण यात्रा गर्ने र हराउनेको संख्यामा कमी देखिएको छ ।