काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन् । पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् । ‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्याउन सक्दैन्,’ मन्त्री ढकालले भने ।
महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै उनले सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत नेताहरुलाई उनको आग्रह थियो । ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिँदैन,’ मन्त्री ढकालले भने, ‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।
सरकार कोरोना नियन्त्रणमा केन्द्रित भइरहेका बेला विभिन्न तरिकाले विरोध भइरहेको उनले बताए । कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्ने स्वास्थ्यकर्मीहरु अहिले चुप लागेको उनले बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनले बताए । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनको भनाइ थियो । जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने उनले प्रस्ट पारे ।
‘गीतहरु बदलीबदली आउनेछन् । एक जमाना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ,’ मन्त्री ढकालले भने ।
मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर नगएको बताए । संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले नआत्तिन उनले सबैलाई आग्रह गरे । अन्य मुलुकहरुको तुलनामा पनि कोरोना नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमहरु प्रभावकारी भएको उनले बताए । महामारीको अप्ठेरो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले सबैलाई आग्रहसमेत गरे ।
कान्तिपुर बाट