आइपिएल टिम चेन्नई सुपरकिंग्सका थप एक जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ। यसअघि शुक्रबार चेन्नईका एक खेलाडीसहित १० जनालाई कोरोना लागेको थियो।
कोरोना लागेका दुवै खेलाडीको नाम खुलाइएको छैन। बाँकी ९ जना खेलाडी, अफिसियल वा सपोर्ट स्टाफ को हुन् भनिएको छैन।
यता चेन्नईका ब्याट्सम्यान सुरेश रैना शनिबार व्यक्तिगत कारण देखाउँदै युएईबाट स्वदेश फर्किएका छन्। उनले अब आइपिएलका सबै खेल गुमाउने बताइएको छ।
जसका कारण चेन्नई सुपरकिंग्सको तयारीमा असर गरेको छ। चेन्नईले सेप्टेम्बर १ बाट तयारी सुरू गर्ने बताए पनि त्यो सम्भव नुहने देखिएको छ।
यता बिसिसिआईले अगस्ट २० देखि २८ सम्म आइपिएलका सबै टिमका खेलाडी, सपोर्ट स्टाफ र व्यवस्थापकहरू लगायतआइपिएलसँग सम्बन्धीतहरूको गरी १९८८ जनाको पिसिआर टेस्ट गरिएको बताएको छ।
जसमा १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बिसिसिआईको भनाई छ। १३ जना मध्ये दुई जना खेलाडी भएको पनि बिसिसिआईको भनाई छ।
ती मध्ये दुवै खेलाडी चेन्नईका हुन्। थप ९ जना गरी चेन्नईका ११ जनामा कोरोना देखिएको छ। बाँकी दुई जना कुन टिमका हुन् खुलाइएको छैन।
कोरोना लागेकाहरूलाई अर्कै होटलको क्वारेन्टिनमा राखिएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि सिजनको आइपिएल युएईमा गर्न लागिएको हो। आइपिएल आगामी १९ सेप्टेम्बरबाट सुरू हुँदैछ। खेल तालिका अझै प्रकासित गरिएको छैन।
आइपिएलको कोभिड-१९ प्रोटोकल अनुसार सबै जना युएई पुग्ने बित्तिकै एयरपोर्टमा कोरोनाको परीक्षण गर्नु पर्छ।
त्यहाँ पुगेको पहिलो, तेस्रो र पाँचौ दिनमा पनि टेस्ट गर्ने नियम छ। यस्तै ६ दिन टिम होटलमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ।
Source:Setopati