हामीले दैनिक भान्सामा उपभोग गर्ने तरकारी र खाद्यान्नको स्रोत के होला ? विश्वनगरको एउटा गल्लीमा रहेको नेपालले अहिलेसम्म पनि स्वाभिमानको नारा घन्काइरहँदा हामीले खाने र उपभोग गर्ने वस्तुहरू कहाँबाट आउलान् ? यस विषयमा धेरै जानकार नै छन् ।
हरियाणाको चामल, उत्तर प्रदेशको साग, बिहारको खुर्सानी र हैदरावादको तेलले नेपालीको प्रत्येक गाँसलाई स्वादिष्ट बनाइरहेको छ । भारतीय चलचित्रमा प्रयोग गरिएका सामानबाट ब्राण्डका विकास हुने विशालबजार र ठूला कम्प्लेक्समा पाइने अधिकांश कपडाहरू भारतीय वा चिनियाँ बजारमा नै आयात गरिएका हुन्छन् ।
खानामा भारतको मुख ताक्ने र पहिरनमा भारत र चीन दुवै मुलुकको मुख ताक्ने नेपालीको कुल २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये अनुमानित १० प्रतिशत जमिन बाँझो बनिसकेको छ । तर पनि कृषिप्रधान मुलुकको मन्त्र जप्न हामी छाडेका छैनौं ।
सन् २०१० पछिको एक दशकमा चलेको विदेश जाने लहरका कारण ग्रामीण भेगका अधिकांश जमिनहरू बाँझो बन्न पुग्यो । अबको दशक विदेशिएकाहरू फर्किएर उद्यमशीलतामा लाग्ने युगको रूपमा व्याख्या त गरिएको छ । तर उद्यमशीलताको सपना देखेर पराश्रित यथार्थलाई हामीले भुल्न सकेका छैनौं ।
कोरोना महामारीका बीच चालु आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्ब ८० करोडको सामान आयात भयो भने ९ अर्ब ६२ करोडको मात्रै सामान निर्यात भयो । यो एक महिनामा ५६ अर्ब ३९ करोडको सामान त भारतबाट मात्रै भित्रियो । त्यसमध्ये ३ अर्ब ४७ करोडको त धानमात्रै आयात गरिएको छ । भने बाँकी पनि दैनिक उपभोग्य वस्तुहरू धेरै छन् ।
नेपाली भान्सामा पाक्ने तरकारी त परैको कुरा मसलामा समेत हामीले अर्काकै मुख ताक्नु पर्ने गरेको छ । मसला उद्योगीका खुर्सानी, जिराजस्ता मसलाका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ ।
त्यताबाट कच्चा पदार्थ ल्याएर उद्योगमा प्रशोधन गर्ने कम्पनीहरू त थुप्रै छन् । तर ती कम्पनी पनि कच्चा पदार्थको लागि भारतकै भरमा छन् । बेसार, अलैँची, तेजपत्ता जस्ता मसलाहरू खपतको धेरै हिस्स नेपालमा नै उत्पादन हुने उद्योगीहरू बताउँछन् ।
शुभकार्य मसला उद्योगका प्रोपाइटर सुजन कोइरालाका अनुसार नेपालमा उपभोग हुने बेसारको धेरै हिस्सा नेपालमा नै उत्पादन हुने गर्छ । यसबाहेक अलैँची, तेजपत्ता जस्ता थोरै मात्रै मसलाको आइटम नेपालमा पाइन्छ । तर चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै एक करोड ५६ लाखको कच्चा बेसार र ८० लाख रुपैयाँको धुलो बेसार आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो एक महिनामा २५ करोडको जिरामात्रै हामीले भारतलगायतका मुलुकबाट आयात गर्ने गरेका छौं ।
भेनेजुयलाबाट ३ करोड रूपैयाँको राजमा ल्याएर हामी गर्वका साथ आफू कृषि प्रधानमुलुक भएको बताउने गरेका छौं । बंगलादेशले विभिन्न किसिमको आलु र माछाजन्य प्रजातिको सामान मात्रै १२ करोड बराबरको नेपाललाई एक महिनामा बेच्यो, त्यो पनि लकडाउनको समयमा ।
भक्तपुरको जुजु धौको हामी मार्केटिङ गर्न सक्दैनौं, २७ लाख रुपैयाँको दही हामीले एक महिनामा मात्रै स्पेनबाट आयात गर्यौं ।
हामी नेपालीहरू कहाँको गरिब छौं र ? खल्तीमा नअटाएर झोलामा हाल्नुपर्ने वा हातैमा देखाउँदै हिँड्ने मोबाइल यहाँको होइन, कोरियन वा अमेरिकी ब्रान्डमा चीनमा बनेको हो । त्यही मोबाइलले हाम्रो शान बढाइरहेको छ । विभिन्न विद्युतीय उपकरणको आयातमा नै हामीले करोडौं रुपैयाँ विदेश पठायौं ।
कोरियन मोटरसाइकलका इन्जिनहरू हिन्दुस्तानी लुब्रिकेन्टसँग लुकामारी खेल्छ, अरबको तेलले नेपालको उकाली र ओरालीसँग माइलेजको सौदाबाजी गर्छ, हामी नेपाली कहाँ गरिब छौं र ?
किसानको अवस्था
हामी किसानलाई कमजोर आर्थिक अवस्था भएको भनेर चित्रण गर्छाैं । तर किसानहरु पनि कहाँ कम छौं र ? भारतीय ट्याक्टरमा ‘इराकको पानी’ हालेर खेत जोत्छौं, अनि खेत बाँझो राख्न हुँदैन भन्दै तल खोलामा बग्ने कलकल पानीलाई समुन्द्र भेट्ने शुभकामना दिएर खेतबारीमा तोरी छर्छाैं । अनि धेरै फसल उब्जाउन भन्दै त्यसैमा रासायनिक मल हाल्छौं ।
उता, यही खोलाले लगेको पानीले हिन्दुस्तानलाई हराभरा बनाउँछ । अनि हामी त्यही हिन्दुस्तानबाट आयात गर्छाैं ३ अर्बको धान ।
तरकारी उपभोगमा बढेको तथ्याङ्क
स्विस सरकारको कमर्सियल एग्रिकल्चर फर स्मलहोल्डर एग्रिबिजिनेस कार्यक्रमले अध्ययन गरी २०२० को अप्रिलमा प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा तरकारी उपभोगको तथ्यांक पछिल्लो दुई दशकमा झण्डै दोब्बर भएको छ ।
एक जनालाई दुई दशकअघि प्रतिव्यक्ति प्रतिवर्ष ६० केजी तरकारी आवश्यक पर्दथ्यो भने अहिले प्रतिव्यक्ति प्रतिवर्ष ११४ केजी तरकारीको आवश्यकता पर्दछ । जनसंख्या वृद्धि, आर्थिक वृद्धि र आयस्तरमा वृद्धि र रेमिट्यान्सको बढ्दो प्रयोग नै यसको मुख्य कारण रहेको सो अध्ययनले देखाएको छ ।
पछिल्लो २ दशकमा ९० प्रतिशत तरकारीको उपभोग बढेको छ भने २००५/०६ देखि २०१५/१६ को तथ्यांक हेर्दा तरकारीको उत्पादनमा ७९ प्रतिशत मात्रै वृद्धि भएको उक्त प्रतिवेदनमा उल्लेख छ । यसले पनि नेपालमा तरकारीको समेत परनिर्भरता बढिरहेको देखाएको छ ।
भन्सार विभागका निर्देशक शिशिर घिमिरे आर्थिक वर्षको पहिलो एक महिनामा समग्र आयातमा त्यति धेरै कमी नदेखिए पनि उपभोग्य वस्तुहरूको आयातमा कमी नआएको बताउँछन् । उनी बरू प्रतिशतको हिसाबले हेर्दा यो एक महिनामा उपभोग्य वस्तुको आयात कुल आयातको तुलनामा धेरै देखिएको हुनसक्ने उनले बताए ।
source onlinekhabar