भादौ १०, डोटी । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको आज मुख्य दिन, गौराष्टमी मनाइदैछ।
हिजो सप्तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखलामा लगेर पूजा गर्ने चलन छ ।
भदौ शुक्ल पञ्चमीका दिन ब्रत बसी केराउ, गहुँ, मास,गहत र गुरौस मिश्रण गरी (जसलाई विरुडा भनिन्छ) तामाको भाँडामा भिजाएपछि गौरा पर्व सुरु हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन विरुडा भिजाउने भएकाले सुदूरपश्चिममा यसदिनलाई विरुडा पञ्चमी भन्ने गरिन्छ।।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको धुमधामका साथ पूजापाठ गर्ने चलन छ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् भनाइ छ ।
सुदूरको मौलिक संस्कृति झल्किने गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ।
यसै सन्र्दभमा दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्व सुदूरपश्चिमेलीहरुको बिशिष्ठ पहिचान भएको बताएका छन् । गौरा पर्वको अवसरमा आज बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरोस भन्ने शुभकामना ब्यक्त गरेका गरेका छन ।
मुख्यमन्त्री भट्ट सन्देशमा अगाडी लेखिीको छ ‘अहिले कोरोना भाइरसवाट उत्पन्न जटिल परिस्थितिमा स्वास्थ्य सजकता अपनाउदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरापर्वलाई खुशीयालीकासाथ मनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु ।
कोरोना महामारीका कारण विगतका बर्ष जस्तो हर्ष उल्लास भने यस पटक देखिएको छैन ।